logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

तनावपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित

img
तनावपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ ।

मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १(० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

खेलको दशौँ मिनेटमा सुजलले निर्णायक गोल गरेका थिए । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे।

यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।

नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो। त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल गर्न सकेनन् ।

छैटौं मिनेटमा नेपालका दर्शन गुरुङको प्रहार आकाशियो । खेलको २१ औं मिनेटमा तेज तामाङको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो।

नेपालका तेजले ३६ औं मिनेटमा मरिससका गोलकिपर पोजिसन भन्दा बाहिर रहेको अवस्थामा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

लगत्तै ३७ औं मिनेटमा मरिससका कप्तान एन्डीले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल पोस्ट माथिबाट गएको थियो ।

खेलको ४४ औं मिनेटमा मरिससका लिन्स्लेले प्रहार गरेको बल नेपालका गोलकिपर किरणले सहजै आफ्नो पन्जामा पारेका थिए।

मरिससका भासिस्ट कलकुट्टाले ५१ औं मिनेटमा गरेको सशक्त प्रहार किरणले बचाए ।

५७ औं मिनेटमा सुमन लामाको क्रसमा अनमार्क रहेका विमल घर्ति मगरले बल भेट्टाउन सकेनन् ।

खेलको ६२ औं मिनेटमा नेपालका मनिष डाँगी गोल गर्न चुके । सुजलको फ्री(किकमा मरिससका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स भित्रबाट उनले बाहिर प्रहार गरे ।

६८ औं मिनेटमा मरिससका कप्तान एन्डीले पेनाल्टी क्षेत्रको एजबाट प्रहार गरेको बल नेपालका गोलकिपर किरणले मुश्किलले बचाए ।

खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।

७८ औं मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा अन्जन विष्टले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल मरिससका गोलकिपरले उत्कृष्ट बचाऊ गरेपछि नेपाल अग्रता दोब्बर बनाउन चुकेको थियो ।

यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १(० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।

नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको हो ।

img