logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मौसमी रडार सञ्चालन हुन सकेन

img
मौसमी रडार सञ्चालन हुन सकेन

काठमाडौं, माघ १० : जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने रडार सञ्चालनमा आउन सकेको छैन ।

विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा मौसमी रडार स्थापना गरेको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको अत्याधुनिक प्रविधिको रडार हो । यो एकसय १७ फिट अग्लो छ ।

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सङ्घीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सारेपछि रडारको भविष्य पनि अन्यौलमा परेको छ । मौसमविद्का अनुसार रडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ ।

अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको १७ करोड लागतमा नेपालको मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रर्णालीलाई अत्याधुनिक एवं सुविधासम्पन्न बनाउन रडार स्थापना गरेको हो ।

रडारले प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम प्रदेशको तीन सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वअवस्था बारे जानकारी दिनेछ । कम्पनीका नेपाल साझेदार स्टक–टू काठमाडौँका प्रतिनिधि ईश्वर गिरीले कर्मचारी र सुरक्षाको अभाव रहेको गुनासो गरे ।

नेपाल सरकारले दक्ष जनशक्ति र कार्यालयको व्यवस्थापनमा ढिलाइ गर्दा हाल निर्माण कम्पनीले नै अमेरिकामा मौसमी सूचना सङ्कलन गरिरहेको छ । दक्ष जनशक्तिसहित कम्तीमा ११ कर्मचारी आवश्यक पर्ने मौसमविद् बताउँछन् ।

विभागले अहिलेसम्म रडारको मुख्य केन्द्र कहाँ राख्ने टुङ्गो लगाउन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक समेत रहेका मन्त्रालयका सहसचिव डा. ऋषिराम शर्मा महँगा उपकरण र अत्याधुनिक प्रविधि जडान गरिएकाले यसको सदुपयोगका लागि ढिलाइ गर्न नहुने बताउँछन् ।

रडारले दिने सूचना छिटो ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमै कार्यालय राख्न उपयुक्त हुने उनको भनाइ छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्राज्ञ डा. मदनलाल श्रेष्ठले रडारबाट हवाई दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुग्ने बताए । ‘मौसमसम्बन्धी सम्पूर्ण गतिविधि रडारले दिन्छ नै, हवाई दुर्घटना रोक्न पनि यसको महत्व उत्तिकै छ,’ डा श्रेष्ठले भने ।

सरकारले उदयपुरको उदयपुरगढी र पाल्पाको रिब्दिकोटमा पनि यस्तै प्रकारको मौसमी राडार राख्ने प्रक्रिया अघि बढाइसकेको छ । यहाँ निर्माण गरिएको राडार समुन्द्री सतहबाट दुई हजार दुई सय ४४ मिटर उचाइमा अवस्थित छ । (रासस)

img
img