logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

भारतमा उत्पादन घट्दा नेपाली अदुवाको उच्च मूल्य

img
भारतमा उत्पादन घट्दा नेपाली अदुवाको उच्च मूल्य

काठमाडौं, माघ १० : भारतमा उत्पादन घटेपछि नेपाली अदुवाले अहिलेसम्मकै उच्च मूल्य पाएको छ । गाउँघरमै अदुवाको राम्रो मूल्य पाएपछि पूर्वि नेपालका कृषक दंग परेका छन् । 

इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यो वर्ष अदुवाबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए । यसअघि खर्च उठान समेत मुस्किलले हुने गरेको बताउँदै उनले भने, ‘पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, यसपालि निकै राम्रो आम्दानी भयो ।’

साप्तिनकै खडानन्द ढुङ्गानाले पनि अदुवाबाट एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए । ‘अदुवाबाट यति धेरै आम्दानी भएकोे पहिलो पटक हो,’ उनले भने । यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा आशा पलाएको उनको भनाइ छ । 
उनीहरुसँगै यहाँका किसानले यसवर्ष अदुवाबाट राम्रो आम्दानी गरेका छन् । यो वर्ष अदुवा प्रतिमन (४० किलो) दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म पुगेको छ । 

यो वर्ष अदुवाको मूल्य राम्रो रहेको व्यापारी कृष्ण पौडेलले बताए । उनले भने, ‘अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो ।’ उनका अनुसार, मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ । उत्पादनको शुरूमा प्रतिमन  एक हजार पाँच सयदेखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन दुई हजार पाँच सयसम्म अदुवा बेचेका छन् । 

यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । स्थानीय व्यापारीले गाउँबाट अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई बेच्ने गर्छन् । एक सिजनमा आठ ट्रकसम्म अदुवा संकलन गरेर बिक्री गर्ने आमचोकका इन्द्रप्रसाद अधिकारीले भारतमा उत्पादन घटेकाले नेपाली अदुवाले अहिलेसम्मकै उच्च मूल्य पाएको बताए । 

इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानबाट यो वर्ष पनि भारत निकासीका लागि बिक्री भइरहेको छ । 
उस्तै पनि यो अदुवाको सिजन हो । किसान अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन् । अदुवाबाट भएको आम्दानीले घर खर्च मात्र चलाएका छैनन्, बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन् । 
यस पटक रोग नलागेकाले अदुवाको उत्पादन पनि बढेको छ । ‘विगतमा पात पहँेलिने, अदुवा कुहिने समस्या देखापथ्र्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन,’ खेमप्रसादले भने ।

ग्रामीण भेगमा अधिकांश कृषकले अदुवा खेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोवार गर्न समेत अदुवाको व्यावसायिक खेती गरिदै आएको छ । इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र, इलामले जनाएको छ ।

अपांगता भएका व्यक्तिलाई बिउ पूँजी
अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलाम नगरपालिकामार्फत करूणा फाउन्डेसनले यहाँका १० वडामा १० लाख वितरण गरेको छ ।

नगरपालिका र करूणा फाउन्डेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत ३ र १० बाहेका वडामा अपाङ्गता भएका व्यक्तिलाई एक÷एक लाखका दरले बिउ पूँजी वितरण गरिएकोे छ । वडा नं ३ र १० मा यसअघि नै बिउ पूँजी वितरण गरिएको थियो । 

अपाङ्गता भएका व्यक्ति आबद्ध रहेको संस्था स्वावलम्बन समूहलाई बिउ पूँजी वितरण गरिएको करूणा फाउन्डेसन नेपालका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए । 
 

img
img