काठमाडौं, स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन प्रकाशित गरी अहिले देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
जसले गर्दा देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
आज दिउँसो पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।





















