काठमाडौं, नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो।
त्यसलाई स्थायी कमिटीले अनुमोदन गरेको उनले बताए। 'उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौं,' उनले भने।
यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उनले बताए।
एकीकृत समाजवादीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउनका लागि सबैलाई एक ठाउँमा ल्याउने र अझ परिकृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए।
उनका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद्को बैठक डाँकिएको छ।
बैठकमा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रुप दिइने भएको छ।
यस्तै बैठकले कर्णाली प्रदेशमा २० जनालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उनले जानकारी दिए।





















