logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

‘रियालिटी शो’ले रित्याएका प्रतिस्पर्धीहरू : डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्म

img
‘रियालिटी शो’ले रित्याएका प्रतिस्पर्धीहरू : डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्म

‘किन मर्न खोज्छस् ? तेरो लागि म मरेको छु र ? किन हार्छस् हिम्मत,’ लोकगायक रामकुमार नेपालीलाई एक दिन उनका बुबाले भक्कानिँदै सम्झाए ।

छोराले पटक–पटक आत्महत्याको प्रयास गर्दा उनको मन नराम्ररी आत्तिएको थियो । रामकुमार डिप्रेसनको बिरामी थिए । केही महिनादेखि औषधि पनि प्रयोग गर्न थालेका थिए । आत्महत्याको प्रयास गर्दा उनलाई आफन्तले थुप्रैपटक बचाएका थिए । 

रामकुमार ऋणमा चुर्लुम्म डुबेका थिए । बैंक, साथीभाइ, आफन्त ऋणदाताहरूको नियमित दबाबका कारण उनले आफूलाई सम्हाल्न सकेनन् । र, उनका दिनहरू चरम निराशामा बिते ।

रामकुमारको लयमा चलिरहेको जीवनलाई यसरी बिथोलेको थियो- ‘नेपाल लोक स्टार'ले । 

२०७६ असारमा एपीवन टेलिभिजनबाट रियालिटी शो ‘नेपाल लोक स्टार’ सुरु हुँदै थियो । ‘लोक स्टार’ बन्ने सपना देखेका रामकुमार उक्त रियालिटी शोमा भाग लिन पुगे । सुरुवाती चरणदेखि नै उनको आवाजको तारिफ भइरहेकाे थियो । उनी पटक–पटक ‘पर्फमर अफ द डे’ बने । लोक स्टारको यात्रा अगाडि बढ्दै जाँदा उनीसँगै आफन्त पनि उत्साहित थिए । 

जब भोटिङ राउण्ड सुरु भयो, त्यसपछि भने उनी अन्योलमा परे । अब उनको कलाले लोक स्टारको बाटो तय गर्दैनथ्याे । अघि बढ्न भोट निर्णायक बन्याे । ‘भोटका लागि प्रतिस्पर्धीहरूले प्रत्येक स्टेपमा ४ लाखभन्दा बढी खर्च गर्थे । अनि म पनि पैसा खर्च गर्न बाध्य भएँ,’ उनी सुनाउँछन् । 

त्यसपछि रामकुमारले १५ वर्ष काठमाडौंमा काम गरेर जोगाएको पैसा भोटमा खर्चिए । त्यतिले पुगेन, बैंकबाट ऋण निकाले । त्यसले पनि नपुगेपछि साथीभाइ/आफन्तबाट लाख/लाख रुपैयाँ सापटी लिए । आफन्तको विश्वास थियो, ‘पक्कै जित्छ । जितेपछि तिरिहाल्छ नि ।’

तर, साेचेजस्ताे भएन । रामकुमार ‘टप–४’ बाट बाहिरिए । त्यतिञ्जेल उनले ऋण गरेर जुटाएकाे सबै रकम रित्तिइसकेकाे थिए । रिजल्ट हेरेर बसिरहेका उनका बुबा प्रतिस्पर्धाबाट छोरो बाहिरिएपछि बेहोस हुन पुगे । ‘बुबालाई वीर अस्पताल लगिएको थियो । म गएपछि होस आयो । उहाँ मलाई अँगालो मार्दै भक्कानिएर रुनुभयो,’ रामकुमार सम्झिन्छन् ।

Islington
ISMT

लोक स्टारबाट बाहिरिएपछि उनका दुर्दिन सुरु भए । अभाव टार्न त समस्या भइरहेको बेला लाखौँकाे ऋण कसरी तिर्ने ? उनी धेरै साेँच्न सक्ने स्थितिमै थिएनन् । उनी भन्छन्, ‘अहिलेसम्म म त्यही ऋणले थिचिएको छु । कुनै दिन खुलेर हाँस्न सकेको छैन । प्रत्येक दिन डरले डेरा जमाएको छ ।’ 

रामकुमार मात्र हाेइन, ‘नेपाल लोक स्टार’को रनर अप बनेका चेतन गोतामेको दिन पनि उसैगरी बितिरहेको छ । बैंक र आफन्तबाट दबाब नभएको दिन कस्तो हुन्छ, उनले महसुस गर्न पाएका छैनन् । ‘लोक स्टार’मा उनलाई जिताउन आफन्तले जग्गा धितो राखे । एक जना साथीले १५ लाख खर्चिए । उनी आफैँले १८ लाखको जग्गा धितो राखे । ‘लोक स्टार’ सकिएपछि उनीमाथि ५३ लाखको ऋण भार पर्‍यो । ‘अहिलेसम्म १२ लाखको ऋण तिरिसकेको छु, बाँकी तिर्न कडा मेहनत गर्नुपरेको छ,’ चेतन सुनाउँछन् । 

‘रियालिटी शाे'काे चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथा

रियालिटी शोमा भाग लिनुअघि चेतन दोहोरी साँझमा काम गर्थे । खुसी थिए, घरखर्च टरेकै थियो । चेतनलाई लोक स्टारले सपना देखायो । प्रसिद्धिको भोक जगायो । त्यही भोकले रियालिटी शोमा उनले भोटिङका लागि पैसा बगाए । अहिले चेतनलाई थाहा छैन, उनको खुसी कहाँ छ ?

‘मेरो जीवन मेरै स्वामित्वमा छैन । त्यसको प्रमुख कारण ऋण हो । भोक लाग्यो भने पनि खान सोच्नुपर्छ, जुन सपना देखेर रियालिटी शाेमा आयौँ, ती सपना पूरा त भएनन् । तर, हाम्रो जिन्दगी नै विचलित भयो,’ चेतन दुःखेसो पोख्छन् ।

त्यसाे त रियालिटी शोमा भाग लिँदा पनि चेतनले विद्रोह गर्नुपरेको थियो । ‘त्यहाँभित्र आफ्नै किसिमका समस्या थिए । आफूले चाहेको बेला फोन प्रयोग गर्न पनि पाइन्नथ्यो । सिम निकालिन्थ्यो र बाहिरी मान्छेसँग भेटघाट गर्न दिइन्नथ्यो । मैले त्यसको विरोध गरेँ । विरोध गर्दा निकाल्नका लागि निकै दबाब आउँथ्यो,’ उनी भन्छन् । 

चेतन आफ्नो जीवन १० वर्ष पछाडि धकेलिएको महसुस गर्छन् । त्यसको जिम्मेवार रियालिटी शाे नै भएको ठान्छन् उनी । 

प्रतिस्पर्धीको पीडा उस्तै, भन्न डर

नेपालमा भइरहेका फ्रेन्चाइज वा मौलिक, जुनसुकै रियालिटी शोको उद्देश्य नै भोटिङ हो ।  रियालिटी शोले खुलेआम भोटका लागि मूल्य तोकेका हुन्छन् । हाल भइरहेको ‘सारेगमप लिटिल च्याम्प्स’मा पनि भोट गर्ने प्रावधानहरू छन् । १ हजार भोटका लागि ५ हजार तिर्न हाकाहाकी अफर गरिएका छन् । 

‘नेपाल आइडल सिजन- ३’ मा टप ९ बाट बाहिरिएकी प्रतिस्पर्धी ममता गुरुङको अनुभव पनि खल्लो छ । उनी भोटिङका लागि प्रशस्त खर्च गर्न नसकेकै कारण आफू बाहिरिनुपरेको बताउँछिन् । ‘भोटिङमा धेरै खर्च गर्न सकेको भए अगाडि बढ्न सक्थेँ भन्ने कुरा सधैँभरि लागिरह्यो,’ उनी भन्छिन् । 

रियालिटी शोमा त्यसअघिका पनि उनका तीता अनुभव छन् । ‘एउटा रियालिटी शोमा सानोमा भाग लिएकी थिएँ । त्यतिबेला आयोजकले बाबालाई पैसा खर्च गर्नुस्, राम्रो भोटिङ आउँछ भनेर सुझाएका थिए । बाबाले मान्नुभएन । भोटिङ नभएपछि जित्ने कुरा पनि भएन,’ उनी सुनाउँछिन् । 

‘नेपाल आइडल मा’ टप–६ बाट आउट भएकी मुस्कान रानाभाट अब कुनै रियालिटी शोमा भाग लिने मनसायमा छैनन् । भाग लिनेहरूलाई पनि नजान उनकाे सुझाव छ । ‘त्यहाँ लगानी गर्ने पैसाले बाहिर गर्छु । कम्तीमा फलदायी त हुन्छ,’ उनी भन्छिन् ।

मुस्कानलाई रियालिटी शोमा कति खर्च भयो भन्ने ठ्याक्कै अन्दाज त छैन । तर, साथीभाइ र आफन्तहरूले अनुमानित १५ लाखभन्दा बढी खर्च गरेको उनी बताउँछिन् । प्रतिस्पर्धाका क्रममा मुस्कानले केही तीता अनुभव पनि गरिन् । ‘हामीसँग कला छ । तर, भोट माग्न आग्रह गर्नुपरेको छ । चाहिनेभन्दा धेरै झुक्नुपरेको छ । त्यतिबेला कस्तो नरमाइलो अनुभव हुने रहेछ,’ उनी सुनाउँछिन् । 

हालै सञ्चालन भइरहेको ‘सारेगमप लिटिल च्याम्प्स’, द ‘भ्वाइस किड्स’मा लाखौँ खर्च गर्नुपरेको अनुभव प्रतिस्पर्धी बालबालिकाहरूका अभिभावकसँग छ । ‘मैले १० लाखभन्दा बढी खर्च गरेँ । पैसा सकियो । छोरीलाई थप जिताउन पैसा खर्च गर्ने सामर्थ्य रहेन,’ प्रतिस्पर्धी बालिकाका एक अभिभावकले शिलापत्रसँग भनेका थिए । 

नेपाल आइडलसँगै चर्चामा आएको रियालिटी शाे कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपालका प्रतिस्पर्धीहरूको पनि उस्तै अनुभव छ । तर, कतिपय आफ्ना अनुभव भन्नसमेत डराउँछन् त कतिपय नाम प्रकाशित नगर्ने सर्तमा बोल्छन् । ‘केही कामहरू भए पनि पाइरहेका हुन्छौँ, विराेधमा बोल्दा त्यो पनि गुम्ने डर हुन्छ,’ द भ्वाइस अफ नेपालमा भोटिङका कारण बाहिरिएका अर्का प्रतिस्पर्धी सुनाउँछन् । 

‘कमेडी च्याम्पियन’ शाेका प्रतिस्पर्धीहरूको अनुभव पनि उस्तै छ । ‘मैले १० लाखभन्दा बढी खर्च गरेँ, अहिले त्यही ऋण तिर्न सकिरहेको छैन,’ नाम नखोल्ने सर्तमा एक प्रतिस्पर्धी बताउँछन् ।  

विजेता नै भन्छन्- यो गलत हो 

‘कमेडी च्याम्पियन सिजन– १’ का विजेता हिमेश पन्त भोटिङ सिस्टमले रियालिटी शाेहरू खर्चिलो बनिरहेको स्वीकार्छन् । ‘यदि मैले पनि भोट दिनुहोला भनेर मागेर चुप मात्र लागी बसेको भए, पैसा नउठाएको भए, अरुले उठाउँथे र जित्थे,’ उनी सुनाउँछन् ।

भोटिङ सिस्टमबाटै आफूले जितेपछि यो गलत भएको पन्त बताउँछन् । ‘म आफैँ कमेडी च्याम्पियनको विजेता भए पनि यो गलत हो भन्छु । किनकि यो प्रणालीको भोटिङले वास्तविक रिजल्ट आउँदैन’, उनी भन्छन् ।

रियालिटी शाेहरू यति खर्चिलो बन्दै गए कि जित्नका लागि भाेटिङ गर्न पैसा नभई सम्भव छैन । ‘म कमेडी च्याम्पियनमा हुँदा सपोर्टरहरू टिम बनाएर लागे पैसा उठाउन । पैसा उठाउने अभियानै चलाए । जति पैसा उठायो, रियालिटी शाेलाई उति फाइदा हुने भयो । यति नगरेसम्म त कहाँ जित्न सकिन्थ्यो र ?’ उनी भन्छन् ।

कमेडी च्याम्पियन सिजन- २ का विजेता भरतमणि पाैडेलले प्रतिस्पर्धाका क्रममा भोटिङ सिस्टममाथि व्यंग्य गरेका थिए । उनले एक एपिसोडमा भोट माग्नुको विवशताबारे व्यंग्यात्मक ढंगले प्रस्तुत गरेका थिए ।

नेताहरूकै गैरजिम्मेवारीपन

रियालिटी शोमा भइरहेको अव्यवस्थित भोटिङ प्रक्रियाविरुद्ध सांसद तथा नेताहरूले आवाज उठाउनुपर्ने हो । तर, उनीहरूकै यस प्रक्रियामा सहभागी भई कलाको व्यापारीकरणमाथि सहयोग पुर्‍याइरहेका छन् । कमेडी च्याम्पियन–२ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई खुलेरै प्रतिस्पर्धी सन्तोष थापाका लागि भोट मागे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा भरतमणिलाई जिताउन खुलेरै भोट माग्ने बताएका थिए । 

नेकपा एमाले सचिव योगेश भट्टराईले भरतमणिको पक्षमा भोट मात्र मागेनन्, खुलेरै पैसा उठाउने अभियानमा सरिक भए । यद्यपि, शिलापत्रले भोटिङ प्रक्रियाबारे प्रश्न सोध्दा यो गलत भएको भट्टराईले दाबी गरे । ‘पछिल्लो समय प्रतिस्पर्धा निर्णायक ठाउँमा पुगेपछि भोट किन्ने चलन छ । जसले धेरै खर्च गर्छ, उसले जित्ने हुन्छ । यसलाई व्यवस्थित पार्नुपर्‍यो, सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्‍यो,’ भट्टराईले भने । तर, ‘गलत हो भन्दाभन्दै किन भोट माग्नुभयो’ भन्ने प्रश्नमा उनले अनौठो तर्क गरे, ‘जिल्लाको भाइ पर्‍यो । पैसा पनि उठाइयो, उसलाई जिताउन । खर्च पनि गरियो । चलन त्यही छ । सबैले गरेपछि आफूले पनि गर्नु परिहाल्यो नि ।’

आयोजक स्वीकार्छन्– गलत हो, तर संयन्त्र छैन

रियालिटी शाे भोटिङका कारण खर्चिलो भएको आयोजकसमेत स्वीकार गर्छन् । तर, यसलाई व्यवस्थित बनाउने चाहना भने उनीहरूमा देखिँदैन । ‘नेपाल लोक स्टार’का परिकल्पनाकार सहदेव कोइराला भोटिङ पब्लिकका लागि भएको दाबी गर्छन् । तर, प्रविधिको दुरुपयाेगका कारण खर्चिलोजस्तो लागेको उनको तर्क छ । ‘जनताले कसलाई रुचायो भन्ने कुराका लागि भोटिङ राखिएको हो । पब्लिकका लागि भएको भोटिङ दुरुपयोग भएको हुन सक्छ ,’ उनी भन्छन् । 

भोटिङ प्रक्रिया वैज्ञानिक नभएको कुरामा ‘सारेगमप लिटिल च्याम्प्स’का प्रोजेक्ट हेड विपिनकुमार आचार्य पनि सहमत छन् । आफूहरूले प्रतिस्पर्धीलाई खर्चिलो ढंगले भोटिङ गर्न नभनेको उनको तर्क छ । भोटिङ प्रक्रिया राख्नुको कारण भने केवल सर्वसाधारणलाई समावेश गराउनु रहेको विपिनको दाबी छ ।

’एक व्यक्ति एक भोटको सट्टा जसले जति पनि भोट दिन पाउने प्रावधानचाहिँ किन राखेको त’ भन्ने प्रश्नमा उनले समयक्रमअनुसार मत दिने संयन्त्र र प्रक्रिया परिमार्जन हुँदै जाने बताए । ‘भोटिङ प्रक्रियाका लागि नयाँ प्रविधि आयो भने त्यो पनि सम्भव छ । हामीले पनि एउटा बिन्दुमा पुगेपछि यसमा सुधार गर्नुपर्छ,’ उनले भने । 

नेपालमा भोटलाई पहिलो प्राथमिकतामा नराखी सञ्चालन गरिएको रियालिटी शाे पनि छन् । इमेज च्यानलबाट दुई वर्षअघि प्रसारण भएको ‘इमेज लोक कलाकार सिजन वान र टु’मा भोटिङभन्दा निर्णायककै निर्णयलाई फाइनलसम्म आधार बनाइएको थियो । कार्यक्रमको उपनिर्देशक बबिना पौडल भन्छिन्, ‘भोटिङ राखेका थियौँ । त्यो कार्यक्रममा भोटिङका कारण कोही बाहिरिनुपरेन । सुरुमा भोटिङ नराख्ने सोचेका थियौँ । धेरैले भोटिङ त चाहिन्छ भनेर सुझाव दिनुभयो । हामीले भोटिङ पनि राख्यौँ । तर जित्ने/नजित्नेचाहिँ निर्णायककै हातमा हुन्थ्यो ।’

उनका अनुसार, धेरै भोट आउने प्रतिस्पर्धीलाई पपुलर पदवी दिइन्थ्यो । ‘हामीसँग स्पोन्सर हुनुहुन्थ्यो । ठूलो व्यावसायिक सोच थिएन । यदि चाहने हो भने भोटिङलाई प्राथमिकतामा नराखीकन पनि रियालिटी शो गर्न सकिन्छ,’ बबिना भन्छिन् ।

img