काठमाडौँ , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नुको विकल्प नभएको बताए । चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरेका छन् ।
चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डको आरोप छ । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाम काम माओवादीको नेतृत्वमा भएको छ । माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, उनले भने ।
प्रचण्डले जनआन्दोलनदेखि जनयुद्धसम्म चितवनको राजनीतिक योगदान अग्रणी रहेको भन्दै अब राष्ट्रका पक्षमा चितवन जुर्मुराउनुपर्ने बताए ।





















