काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासले नेपालसँग कुनैपनि सैन्य गठबन्धन भएको वा प्रस्ताव नगरिएको दाबी गरेको छ। दूतावासले १० बुँदे सहमति पनि नगरिएको दाबीसमेत गरेको छ।
नेपालमा दुई देशको संयुक्त सैन्य अभ्यसका लागि अमेरिकाको एक राज्यसँग ‘स्ट्राटेजिक पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दूतावासले फेरि यसबारे बोलेको हो।
दूतावासले अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब नदिएको दाबी पनि गरेको छ। यसअघि अमेरिकी दूतावासले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भनेको नेपाल र अमेरिकाबीच सैन्य सम्झौता हुने भनेर सार्वजनिक दस्तावेज असत्य भएको बताएको थियो।
अमेरिकाको नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने दूतावासले बताएको थियो।
— U.S. Embassy Nepal (@USEmbassyNepal) June 15, 2022
यता, नेपाली सेनाले पनि ‘स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता अमेरिकी सेना वा सरकारसँग नगरेको जनाएको छ।
सेनाले विज्ञप्ति प्रकाशित गर्दै लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न सञ्चारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको पनि सेनाले जनाएको छ। साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिप्रति सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ।





















