विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ।
जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घटनाहरू भएका छन्।
सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सिध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला हत्याकाण्ड भएका छन्।
विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो।
कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्।
यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घटना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन्।
यही प्रसङ्गमा आधुनिक नेपालका केही महत्त्वपूर्ण घटनाको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ।
साठी र बयसट्ठी साल पर्व
नेपाल एकीकरणको अभियान थालेका राजा पृथ्वीनारायण शाहको मृत्यु भएको केही वर्षपछिदेखि नै दरबारभित्र षड्यन्त्र बढेको र भाइभारदारबीच सत्तामा प्रभुत्व जमाउने होडबाजी चलेको थियो।
त्यसको मुख्य कारणमध्ये एक पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहलाई उनका पिता प्रतापसिंह शाहको मृत्युपछि अढाई वर्षको उमेरमै राजा बनाइनु भएको इतिहासकारहरूको मत छ।
अढाई वर्षको उमेरमै राजा बनाइएका तिनै रणबहादुर शाहसहित विभिन्न व्यक्तिको हत्या भएको विसं १८६० ताकाका घटनाले नेपालको इतिहासलाई अर्कै बाटोमा डोर्याएको मानिन्छ।
विक्षिप्त र सन्की राजा मानिएका रणबहादुर शाहको शासनकालमा दरबारभित्र तीन खालका शक्तिकेन्द्र रहेका र तिनले समानान्तर तीनवटा सत्ता चलाएको इतिहासकारहरूले लेखेका छन्।
तत्कालीन परम्पराविपरीत एक विधवा ब्राह्मणकन्यासँग विवाह गरेका रणबहादुर शाहले आफू जीवितै हुँदा तिनै ब्राह्मणबाट जन्मिएका गिर्वाणयुद्धलाई डेढ वर्षको उमेरमै सिंहासनमा राखेर आफू सन्न्यासी बनेर काशी गएका थिए।
त्यस बेला दरबारमा दामोदर पाँडेसहित पाँडेहरूको प्रभाव थियो भने रणबहादुर शाहसँगै भीमसेन थापा बनारस गएका थिए। पछि रणबहादुर शाह नेपाल फर्किएर आफ्नै छोराबाट मुख्तियारी लेखाई शासनसत्तामा फर्किए।
छोराबाट मुख्तियारी अर्थात् राजप्रतिनिधिको उपाधि लिनुपूर्व नै भीमसेन थापालगायतको सल्लाहमा त्यस बेलाका मूलकाजी दामोदर पाँडेसहित कैयौँलाई चरम यातना दिएर रणबहादुर शाहकै आदेशमा मारिएको इतिहासकारहरूले वर्णन गरेका छन्।
शासनसत्ता छाडेर गएका रणबहादुर शाह काठमाण्डू फर्कँदै गरेको थाहा पाई रोक्ने उद्देश्यले थानकोट पुगेको दामोदर पाँडे नेतृत्वको फौजका धेरै मानिसहरूलाई सुरुमा कैद गरेर पछि चरम यातना दिई मारिएको थियो।
विसं १८६० सालमा भएको यो घटनालाई इतिहासकार बाबुराम आचार्यले साठी साल पर्व भनेका छन्।
त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकाशन गर्ने जर्नल 'कन्ट्रिब्युशन टु नेप्लिज स्टडिज्' को सन् २००५ जुलाईमा प्रकाशित ३२(२) अङ्कमा गङ्गा कर्माचार्य (हाडा)ले दामोदर पाँडे र अरूलाई विसं १८६० फागुन २१ गते पक्राउ गरिएको लेखेकी छन्।
उनी लेख्छिन्, "...त्यसको २०/२५ दिनपछि भारदारहरूलाई काट्न सुरु गरियो। त्यसको पहिलो सिकार दामोदर पाँडे र उनका छोराहरू रणकेशर र राजकेशर भए। काजी भीम खवास, सरदार इन्द्रमान खत्री, द्वारे सपनसिं, सुवेदार शङ्खधर, मानधन जम्मा आठ जना उक्त घटनामा काटिए।"
बाबुराम आचार्यले 'अब यस्तो कहिल्यै नहोस्' मा लेखेअनुसार १८६० सालमा सुरु भएको उक्त काटमारको सिलसिला लामै समय चलेको देखिन्छ। दरबारमा पाँडे खलकसहित अन्य भाइभारदारलाई पाखा लगाएर आफू शक्तिशाली बन्ने चाहनामा भीमसेन थापाले विभिन्न षड्यन्त्र गरेको आचार्यले लेखेका छन्।
त्यसै क्रममा रणबहादुर शाह निर्वासनमा रहँदा राज्यको ढुकुटीबाट १८ हजार रुपैयाँ हिनामिना गरिएको एउटा मुद्दा अघि सारेर विसं १८६२ चैत ३ गते काजी त्रिभुवन प्रधानलाई पहिले कैद गरी मृत्युदण्ड सुनाइयो।
तर उनलाई मार्न भनी लगिएकै स्थानमा उनले "यो मामलामा अरू भाइभारदार पनि सामेल भएकाले सबैलाई बोलाई छिनोफानो होस्" भन्ने खालको अर्जीपत्र दिएपछि कैद गरेर राखिएको आचार्यले लेखेका छन्।
यसलाई भीमसेन थापाले विशेष अवसरको रूपमा प्रयोग गरे। विसं १८६३ वैशाख १५ गते (कसैले १६ गते पनि लेखेका छन्) बेलुका काजी त्रिभुवन प्रधानकै घरमा कचहरी बोलाइयो।
त्यसमा चौतारिया शेरबहादुर शाही तथा काजी नरसिंह गुरुङ आदिलाई अनिवार्य उपस्थित गराउन भीमसेन थापाले आफ्नो मातहतका सेनालाई आदेश दिएका थिए।
शाही र अरू भारदार सहजै उक्त कचहरीमा उपस्थित भए। सबैको उपस्थितिमा कचहरी सुरु हुने बेला भीमसेन थापा भने बहाना गरेर बाहिरिएको आचार्यको पुस्तकमा उल्लेख छ।
उनी लेख्छन्, "जुन बेला स्वामी महाराज (रणबहादुर) को उपस्थितिमा कचहरी प्रारम्भ भइरहेको थियो, ठिक त्यसै समयमा काजी भीमसेन थापा 'खाना खान जान्छु' भनी सभास्थलबाट खुरुक्क बाहिरतिर निस्किएका थिए।"
भीमसेन थापाको अनुपस्थितिमा सुरु भएको कचहरीमा रणबहादुरले काजी त्रिभुवन प्रधानले १८ हजार रुपैयाँ राज्यकोषबाट झिकेर मासेकोमा चौतारिया शेरबहादुर शाहीलगायत त्यहाँ उपस्थित भारदारहरूको पनि संलग्नता रहेको आरोप लगाए।
उक्त आरोप आफूमाथि पनि लागेपछि रिसाएका शेरबहादुर शाहीले रणबहादुर शाहलाई आफ्नै तरबार निकालेर प्रहार गरेको इतिहासकारहरूले लेखेका छन्। त्यसपछि तत्कालै शेरबहादुर शाहीलाई पनि त्यही स्थानमा मारियो।
अन्य केही भारदार र शेरबहादुर शाहीका अङ्गरक्षक तथा नातेदारहरूको पनि हत्या भयो। त्यसको भोलिपल्ट अन्य भारदारको पनि कुनै पुर्पक्ष नगरी विभिन्न आरोप लगाएर हत्या भयो।
शेरबहादुर शाहीको सहयोगी ठानिएका र भीमसेन थापाले रणबहादुर शाहको हत्यामा संलग्न भनी आरोप लगाएका व्यक्तिका शाखासन्तान समाप्त हुनेगरी साना बालकहरूलाई समेत काटेर मारेको इतिहासकार आचार्यले लेखेका छन्।
उनका अनुसार हत्याको क्रम झन्डै दुई सातासम्म चल्यो। त्यसमा १६ महिलालाई सती पठाइएको र झन्डै ७७ पुरूषको हत्या भएको आचार्यले लेखेका छन्।
ती दुई हत्याकाण्डकै कारण नेपालमा राजसंस्थामाथि भारदार हावी भएको इतिहासकारहरूको विश्लेषण छ। ती हत्याकाण्डले शक्तिशाली बनेका भीमसेन थापाले राजाभन्दा बलियो बनेर झन्डै ३१ वर्ष नेपालको सत्ता सञ्चालन गरे।
ती हत्याकाण्ड र भीमसेन थापाको उदयको परिणाम के भयो भन्नेबारे आचार्यले 'अब यस्तो कहिल्यै नहोस्' मा यसरी व्याख्या गरेका छन्-
"यसरी स्वामी महाराजको यस हत्याकाण्डबाट पुराना तात्कालिक भाइभारदारहरू प्राय: सबैको दमन भयो। मुख्तियार भीमसेन थापा तथा यिनले बनाएका आलाकाँचा भारदारहरू मात्रै सत्तामा हाबी रहे। न योग्यताको कदर भयो न अनुभवको नै।"
"भारदारका योगदानहरूको पनि कुनै पूछ भएन। यसको प्रतिफल पछि विसं १८७१ मा कम्पनी सरकारका अङ्ग्रेज पदाधिकारीहरूसँग नेपाल अधिराज्यको अनपेक्षित रूपमा युद्ध भयो र नेपाल अधिराज्य आफ्नो अङ्गभङ्ग गराउन विवश भयो।"
कोत पर्व
साठी र बयसट्ठी पर्वपछि नेपालको इतिहासमा घटेको अर्को ठूलो र चर्चित हत्याकाण्ड हो - कोत पर्व।
दामोदर पाँडेको हत्या र दरबारमा भीमसेन थापाको उदयसँगै थापा एवम् पाँडे खलकबीचको द्वन्द्वमा कहिले को शक्तिशाली कहिले को शक्तिशाली बन्ने गरेको इतिहासकारहरूले लेखेका छन्। त्यस क्रममा एकले अर्कोलाई सिध्याउने खेल चल्ने गर्थ्यो।
एकतीस वर्ष सत्तामा हालीमुहाली गरेका भीमसेन थापालाई एक राजकुमारलाई विष खुवाएर मारेको अभियोगमा फसाएपछि दरबारबाट तितरबितर भएको थापा खलक पछि फेरि दरबारकै आग्रहमा सत्ताको केन्द्रमा आइपुगेको इतिहासकारहरूले लेखेका छन्।
त्यस क्रममा माथवरसिंह थापा नेपालको प्रधानमन्त्री र प्रधानसेनापति बने। तर विसं १९०२ मा उनी आफ्नै भान्जा जङ्गबहादुर कुँवरबाट मारिए। त्यस बेला पनि दरबारमा राजा राजेन्द्रविक्रम र रानी राज्यलक्ष्मीको दोहोरो सत्ता चलिरहेको थियो।
तसर्थ माथवरसिंह थापाको हत्यापश्चात् रानी आफ्ना विश्वासपात्र गगनसिंह भण्डारीलाई प्रधानमन्त्री बनाउन चाहन्थिन्। तर राजाले भने भारतमा बसेका फत्यजङ्ग शाहलाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाए। रानीको आग्रहमा गगनसिंहलाई पनि मन्त्रिपरिषद्को सदस्य बनाइयो।























