काठमाडौं: एमसिसीको विरोधमा प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
सरकारले आजको प्रतिनिधिसभा बैठकमा एमसिसी प्रस्ताव टेबुल गर्ने तयारी गरेको भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायत अन्य विभिन्न दलका कार्यकर्ता तथा समर्थकहरू बानेश्वर क्षेत्रमा भेला भएर एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ता पनि विरोध प्रदर्शनमा सहभागी भएको जनाइएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालेपछि झडपकाे स्थिति सिर्जना भएकाे थियो। प्रदर्शनकारी अघि बढ्न थालेपछि उनीहरूलाई रोक्न प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ।
माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगाइँटा आदि प्रहार गरेका थिए।
नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएका कारण माइतीघर–तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।





















