काठमाडौं, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएसँगै भोलि बिहान ७ बजेदेखि मतदान हुँदैछ । मतदानमा सहभागी हुन भारतलगायत मुलुकका विभिन्न स्थानबाट नागरिकहरु गाउँ फर्केका छन् । निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्थानमा आचारसंहिता उल्लंघनका घटनाहरु समेत बढेको पाइएको छ । मतदातालाई प्रलोभनमा पार्नका निम्ति पैसा बाँड्नेदेखि सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको पाइएको छ ।
निर्वाचन आयोगले आचारसंहिता विपरित कार्य गर्नेलाई कारबाही गर्ने बताएपनि स्वयं नेता, कार्यकर्ताले अटेर गर्दा समस्या भइरहेको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता उल्लंघन गर्नेलाई २४ घण्टे स्पष्टिकरण सोध्नुका साथै सामाजिक सञ्जालमा भइरहेका क्रियाकलापलाई अपडेट लिएर कारबाही गरिने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।
आचारसंहिता उल्लंघन गर्नेमा पूर्वप्रधानमन्त्री देखि मुख्यमन्त्रीसम्म रहेको आयोगले जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई २४ घण्टे स्पष्टिकरण पनि सोधेको जनाएको छ ।
मतदानको दिन मतदाताको अधिकारलाई हनन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।
भोलि हुने मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकोले मतदाता हरुलाई आयोगले भयरहित वातावरणमा मतदान गर्न आग्रह गरेको छ ।
सुरक्षाका लागि तीन घेरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
नेपाल प्रहरीले सबै मतदानस्थलमा सुरक्षा व्यवस्थालाई चुस्त बनाएको र आम नागरिकलाई भयरहित वातावरणमा मतदान गर्न नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिनुभयो ।
अधिकांश मतदानस्थलमा सीसी क्यामेरा जडान गरिएको आयोगले जनाएको छ । मतदानको दिन हुनसक्ने बुथ कब्जा, आपराधिक क्रियाकलाप, प्रलोभनलगायतका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालय सचेत हुनुपर्ने देखिन्छ ।