logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

भात खान नपाएको निहुँमा ठेकेदारहरुबीच हात हालाहाल

img
भात खान नपाएको निहुँमा ठेकेदारहरुबीच हात हालाहाल

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा तनाव भएको छ। सोमबार अपराह्न थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा २३औं साधारणसभाबाट रवि सिंहको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण तथा रात्रि भोज कार्यक्रमको आयोजना गरिएको थियो। करिब पाँच सय निर्माण व्यवसायी र अन्य आमन्त्रित अतिथि उपस्थित कार्यक्रममा निर्वाचित पदाधिकारीलाई एक समारोहका बीच सपथ गराइएको थियो। सपथपछि बानेश्वर ब्याङ्कटेमा जलपानसहितको रात्रिभोज कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा सहभागीहरुका अनुसार ठेकेदारहरुले भरिभराउ ब्याङ्केटमा खानपिन गर्न लामो पालो नै कुर्नुपरेको थियो। मदिरा, खाजा र डिनर लिन भीड नै लागेको थियो।

करिब ७ बजेबाट जलपान सुरु भएको थियो। लाइन लागेर पनि खानपिनका लागि तछाड मछाडको दृश्य देखिन्थ्यो। उपस्थित संख्या धेरै हुँदा व्यवस्थापन गर्न ब्याङ्केटका कर्मचारीलाई हम्मे-हम्मे परेको थियो।

सानो ठाउँमा धेरै उपस्थितिले व्यवस्थापन भद्रगोल बन्न पुग्यो। तैपनि आफ्नो संस्थाको कार्यक्रम भनेर ठेकेदारहरु असहजताका बीच जलपानमा सहभागी भइरहेका थिए। मदिरा, सित्तन तथा खाना लिइरहेका थिए।

उपस्थित ठूलो संख्यामा बाहिर मदिरापानमा व्यस्त रहेका बेला होटल प्रशासनले एक्कासी खाना बन्द गरिदियो। साढे ८ पनि नबज्दै वेटरले खाना बन्द गरिएपछि लाइनमा बसेका ठेकेदारहरुले किन भनेर सोधीखोजी गरे। प्लेट नै नदिएपछि सहभागीहरु हामीले किन खान नपाउने भन्दै ब्याङ्केटका व्यवस्थापकमाथि खनिए। उनले निर्माण व्यवसायी महासंघकै प्रतिनिधिको निर्देशनमा बन्द गरेको जानकारी गराएर निर्देशन मान्छे यही भनेर नवनिर्वाचित महासचिव रोशन दाहालतिर इशारा गरे। एक जना दारी पालेका निर्माण व्यवसायी प्लेटमा हालेको दालभात छोडेर महासचिव दाहाल भएको ठाउँमा गए। हामीले भात खान नपाउने, किन बन्द गर्न भनेको, हामीलाई यहाँ किन बोलाएको भनेर प्रश्न गरे। सुरुमा महासचिव दाहालले 'अब भयो अब भयो' भनेर पन्छिन खोजे। तर भात हालेर पनि तरकारी हाल्नुअगावै किचन क्लोज गरेपछि प्लेट छोडेर महासचिवकहाँ पुगेका ती युवा ठेकेदारले 'खाना बन्द गर्ने तपाईं को हो? हाम्रो संस्थाको रात्रिभोजमा हामीले खान पनि नपाउने' भनेर प्रश्न गरे। उनलाई खान लाइनमा बसेका अरुले साथ दिए। मदिरा पिएर जितको जश्न मनाइरहेका महासचिव दाहाल पनि एक्कासी आक्रोशमा आए। उनले ‘के भन्न खोजेको, को होस् तँ? के निहुँ खोजेको? बन्द भनेपछि बन्द भनेर’ जंगिए। महासचिव जंगिएपछि उनको पछाडिबाट केही युवाहरु दौडिएर आए र खान नपाएर प्रश्न गरिरहेका ठेकेदारमाथि झम्टिहाले। हतपत अन्यले दुबै पक्षलाई छुटाएर अलग गरे। युवाहरु फेरि दौडिएर ‘को होस् तँ देखाइदिउँ’ भन्दै धक्कामुक्का गरिहाले। बाझाबाझ र वादविवादको क्रम चलिरहँदा अध्यक्ष रवि सिंह दौडिएर आए। उनले पहिला भात खान नपाएका युवासँग के भएको भनेर सोधे र आज व्यवस्थापन राम्रो हुन नसकेको भन्दै विवाद नगर्न अनुरोध गरे। त्यसपछि दुबै पक्षलाई अलग लगिए पनि एक घण्टासम्म तनावको अवस्था रह्यो। तनावका बीचमा ब्याङ्केटमा दुईजनामात्रै प्रहरी उपस्थित थिए। उनीहरु भीड जता जता जानथ्यो त्यतै त्यतै दौडिन्थे। थप प्रहरी टोली पनि आएन। यसरी जितको जश्न मनाइरहेका निर्माण व्यवसायी तनावमा परे। यही बीचमा ब्याङ्केटले खानाका सबै भाँडाकुडा हटाएर भित्र लग्यो। मदिरा र खाजा पनि बन्द गर्‍यो। ९ नबज्दै जलपानका सबै कार्यक्रम स्थगित भए। उपस्थित धेरै अतिथि भोकै घर फर्किन बाध्य भए। घटनापछि धेरै निर्माण व्यवसायी ‘आफ्नै संस्थाको कार्यक्रममा हामीले खान पनि नपाउने?’ भन्दै नेतृत्वप्रति आक्रोश पोखिरहेका थिए। केही निर्माण व्यवसायी भने यो मदिराका कारण भएको भन्दै मदिरा ब्याण्ड गर्नुपर्ने धारणा राखिरहेका थिए।

अध्यक्ष सिंहले यो सामान्य विवाद भएको बताएका छन्। देशको विकास र समृद्धिको एक खम्बा निर्माण व्यवसायी मानिने भए पनि पछिल्लो समय निर्धारित मितिमा काम नगर्ने, ढिलासुस्ती गर्नाले निर्माण व्यवसायीको कार्यशैलीमै प्रश्न उठिरहेको छ। नयाँ कार्यसमितिले यसमा सुधार गर्ने अपेक्षा गरेका बेला निर्माण व्यवसायी स-साना कुरामा आपसमै भिडेका छन्। (annapurnapost)

img