२ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । यो अन्तर्राष्ट्रिय विमानस्थलको साख त्यही जजिराका साप्ताहिक ३ उडानले थेगेको छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको यो विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र र अगाडि पार्किङ क्षेत्रमा कमिला दौडने गरेको भैरहवाका व्यवसायीहरु बताउँछन् ।
टर्मिनलको अग्रभागमा कर्मचारीका फाटफुट साइकल, मोटरसाइकल, केही मोटर र सुरक्षाकर्मी मात्र देखिन्छन् । सुरक्षाकर्मीहरु आगमन र प्रस्थान कक्ष रहेको टर्मिनल भवनको ढोका खुलै राखेर बस्छन् । भित्रअध्यागमन, कार्गो, भन्सार, ग्राउन्ड ह्यान्डलिङका कर्मचारीहरु हाई काढेर ड्युटी समय बिताउँछन् ।
सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको मुख्य कारण हो, बुद्धको जन्मस्थलमा विश्वभरबाट आउने सम्भावित पर्यटक । तर अहिलेसम्म विमानबाट लुम्बिनीलाई लक्षित गरेर भैरहवा उत्रने विदेशी नगण्य छन् ।





















