logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

आज दिनभर देशका अधिकांश स्थानमा पानी पर्ने

img
आज दिनभर देशका अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाको भनाइ छ।

आज शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ। देशका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अधिकांश स्थानमा असिनासमेत पर्न सक्ने जनाइएको छ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा असिना पर्नसक्ने सम्भावना रहेको छ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदलीसँगै वर्षा हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

img