काठमाडौं, भ्रमणको दौरान जनरल पाण्डेले भारतमा विवाद भइरहेको ‘अग्निपथ स्किम’बारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले बताएपनि उक्त विषय एजेन्डामा नरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार भारतीय सञ्चारमाध्यमले अग्निपथ स्किमबारे रिपोर्टिङ गरिरहँदा जनरल पाण्डेको भ्रमणमा कतै पनि त्यहाँको सेनाप्रमुख, रक्षा मन्त्री र रक्षा मन्त्रालयको उच्च अधिकारीको अभिव्यक्ति नआएको बताए । उनी भन्छन्, “यो भ्रमण नियमित हो । यसमा अग्निपथ स्किमबारे छलफल हुँदैन । किनकी एजेन्डामा नै छैन ।”
भारतीय समाचार माध्यमहरूले भने नेपाल सरकार भारतीय सेनामा अग्निपथको नयाँ भर्ना योजनालाई लिएर अन्योलमा रहेको जस्ता टिप्पणी गरिरहेका छन् । बीबीसी हिन्दीले नेपालमा मंसिर ४ मा हुन लागेको निर्वाचन अघि प्रधानमन्त्री देउवाका लागि अग्निपथ मुद्दा टाउको दुखाइको विषय भएको टिप्पणी गरेको छ ।





















