वि.सं. २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे।
भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ' भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।
त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालोसम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो।
वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११:५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति गर्यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन्।
पाठ
बहत्तर सालको भैँचालोमा हामीले आफ्नै पालामा हाम्रा बा वा हजुरबाहरूले सुनाउने गरेको 'नब्बे सालको भैँचालोको कथा' जस्तै भयानक विपद् भोग्यौँ।
तर न सर्वसाधारण न त सरकारी ओहोदामा रहनेहरूले त्यस भैँचालोबाट पाठ लिएको देखिन्छ।
अहिले पनि भैँचालो थाम्ने खाले निर्माण नभइरहेको गुनासो सार्वजनिक हुने गरेको छ।
विशेष गरेर सहरी क्षेत्रमा त्यस्तै विपद् पर्दा आवश्यक पर्ने खुला स्थानहरू राखेको देखिँदैन।
विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूला खाले भैँचालाहरू गएकै देखिन्छ।
त्यस्ता भैँचालाको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन्।
साना र मझौला खाले भैँचालोहरू त गइरहेकै हुन्छन्।
गल्ती
नेपालमा गएका भैँचालाहरूको विवरण समावेश गरेर लेखिएका कतिपय पुस्तक र लेखहरूमा पनि गल्तीहरू भेटिएका छन्।
यो पुस्तकमा नब्बे सालको भैँचालोको विषयमा धेरै र त्यसभन्दा अघिका भैँचालोहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ।
यो नब्बे सालको भैँचालो गएको एक वर्षपछि प्रकाशित भएको थियो।
तर त्यसमा नब्बे साल अघिको भैँचालोबारे राणाले लेख्दा गल्ती हुन गएको भनी नयराज पन्त भन्ने गर्थे।
उक्त पुस्तकको आफ्नो निजी प्रतिमा उनले त्यसको संशोधन पनि गरेर राखेका थिए।
खोजी
अध्ययन गर्दै जाँदा मैले पनि त्यो पुस्तकमा गल्तीहरू भेट्दै गएँ।
नेपालको खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् जीआर चित्रकार र माधवराज पाण्डेले अङ्ग्रेजी भाषामा लेखेको 'इतिहासमा चढेका, नेपालमा गएका भैँचाला' भन्ने एउटा लेखमा पनि ब्रह्मशमशेरकै गल्ती दोहोर्याएको भेटियो।
फ्रान्सको 'सँत्र नासओनल् दे ला रशेर्शे साँतिफिक्' अर्थात् शास्त्रीय अन्वेषणको राष्ट्रिय केन्द्रबाट मलाई २०५६ सालको हिउँदमा तीन महिनाका लागि त्यहाँ अन्वेषण गर्ने प्रस्ताव आयो।
मैले त्यहाँ तीन महिनामा सकिने खालको अन्वेषण गर्नुपर्ने थियो
त्यसैले मैले नेपालका भैँचालाकै विषय समातेँ। प्यारिसमा गरेको त्यस अध्ययनबाट एउटा छाप्न मिल्ने पुस्तिका नै तयार भयो।
त्यो लेख २०५७ वैशाख ८ गते काठमाण्डूमा भएको एउटा गोष्ठीमा प्रस्तुत हुनुका साथै संशोधन मण्डलबाट प्रकाशित भएको अङ्ग्रेजी भाषाको जर्नल 'आदर्श'मा पनि त्यो लेख छापियो।
पछि प्यारिसबाट पनि उक्त लेखको सारांश फ्रेन्च भाषामा छापिएको छ।
ब्रह्मशमशेर जङ्गबहादुर राणा
कुन हो सबैभन्दा पुरानो भैँचालो?
यसरी मैले ऐतिहासिक तथ्यहरूमा आधारित भएर नेपालका भैँचालासम्बन्धी इतिहासको अध्ययन गर्दा कतिपय पुस्तक र लेखहरूमा प्रशस्त गल्तीहरू भेटेँ र तिनलाई सच्याउने प्रयास पनि गरेँ।
नेपालका प्राचीन टिपोट र अभिलेखहरूको मेरो हालसम्मको अध्ययनले नेपालमा गएका भैँचालामध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भैँचालो भनेको वि.सं. १२८० मा गएको भैँचालो हो।
यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ।
मैले अध्ययन गर्दा लक्ष्मीपति-नयराज सङ्ग्रहमा जुनजुन सालका पात्राहरू उपलब्ध भए तिनको पनि उपयोग गरेँ।
यसबीच दिनेशराज पन्तको अन्वेषणबाट पनि भैँचालाको इतिहासको विषयमा केही तथ्य फेला परे।
२०७२ सालको ठूलो भूकम्पपश्चात् ब्रह्मशमशेरको पुस्तकलाई धेरैवटा प्रकाशनगृहले प्रकाशित गरेर फेरि एक पटक चर्चित बनाएका थिए
गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिकभूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर मैले नेपालका भैँचालाहरूबारे तथ्यहरू खोजेको हुँ।
त्यस क्रममा एकै साल पनि धेरैवटा भैँचालाहरू गएको तथ्य भेटिन्छ।
चाँडचाँडै दोहोरिएका भैँचालाहरू अहिले भन्ने गरिएको परकम्प पनि हुनसक्छन्।
राजाकै मृत्यु
गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ।
त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।
त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ।
भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ।
राजा अरि मल्लको पालामा भक्तपुर शासनको केन्द्र थियो
वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ।
त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ।
त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ।
त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ।
त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो।
मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ।
वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन्।
त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्।
झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ।
कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पुर्याएको उल्लेख छ।
अपूर्ण
अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भैँचालो जानसक्छ भन्न सक्थ्यौँ।
तर इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ।
यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भैँचाला पनि गएका छन्।
२०७२ सालको भूकम्पले लडाएको धरहरा
यसले नेपाल भैँचालाको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ।
इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान्।
नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भैँचाला यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ।
भैँचालोको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ।
भैँचालाको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तर्फबाट प्रशस्त खर्च भइरहेको छ।
भैँचालोको इतिहासको खोजीमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पेको खण्डमा अझ बढी प्रकाश पर्थ्यो कि जस्तो मलाई लाग्छ।
(इतिहासकार पन्तसँग बीबीसी संवाददाता विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित। यो लेख पन्तले प्रयोग गर्ने शैलीकै भाषामा तयार पारिएको )




























