काठमाडौं । नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कोभिडको कारणले समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेको उल्लेख गर्दै प्रतिकुल परस्थितीमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
उहाँले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा राख्नु भयो । यस्तै मन्त्री आलेले बोर्डलाई संघीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानले कोभिडले सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले पर्यटन पुनःरुत्थानका व्यवसायीहरुलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयले समेत पहल गरिरहेको बताउनु भयो ।
यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताउँदै त्यसकोलागि पहल गर्न मन्त्रालयलाई आग्रह गर्नु भयो ।
उहाँले बोर्ड स्थापनाको २३ औं वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिने लाहे थापाले कोभिड १९ को संक्रमणका बीचमा पनि पर्यटन बोर्डले आफ्नो कामलाई निरन्तरता दिएकै कारण बोर्डले बेलायतामा वन्डरलष्ट अर्बाड प्राप्त गरेको जानकारी दिनुभयो ।
उहाँले अझै पनि समग्र पर्यटन क्षेत्र समस्यामै रहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रको सहयोगले मात्र यो क्षेत्रको पुनःउत्थान सम्भव रहेको धारणा राख्नुभयो ।
यस्तै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले अन्तरराष्ट्रिय पर्यटन आगमन घटेको सन्र्दभमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको जानकारी दिनुभयो । बोर्डले लगत्तै देशका सातै प्रदेशमा पर्यटन मेला आयोजना गर्न लागेको समेत जानकारी दिनु भयो ।
बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले हरेक कठिन परस्थितीमा बोर्डका कर्मचारीहरुले काम गरिरहको उल्लेख गर्दै कर्मचारीको वृति विकासमा ध्यान दिन मन्त्रालय र बोर्डलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डको जर्मनीका लागि पूर्व मानार्थ जनसम्पर्क प्रतिनिधी (एचपीआरआर) दिल बहादुर गुरुङलाई उहाँले विदेशमा रहेर नेपालको पर्यटन प्रवद्र्धनमा गरेको योगदानको सम्मान गर्दै मन्त्री आलेले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा पर्यटन मन्त्री प्रेमबहादुर आले र सचिव न्यौपानले बोर्डले प्रकाशन गरेको इन्फोकस २०२१ को विमोचन गर्नु भएको थियो भने बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
साथै, कोभिडको कारण ज्यान गुमाउनु भएका बोर्डका सवारी चालक हिरा बहादुर ढकालकी धर्मपत्नीलाई नगर सहयोग सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।




















