logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सत्ता गठबन्धनमा ‘एमसीसी विवाद बारे निर्णायक’ वार्ता आज हुने

img
सत्ता गठबन्धनमा ‘एमसीसी विवाद बारे निर्णायक’ वार्ता आज हुने

काठमाडौँ । विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।

बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो । एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बुधबार दिउँसो १ बजेको बैठकमा एमसीसी टेबल गर्ने देउवाको जोड थियो । तर, सत्ताघटक माओवादी केन्द्रको बुधबार बिहानको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए गठबन्धन तोडिने र सरकारबाट बाहिरिने चेतावनी दिएपछि एमसीसी संसदमा टेबल हुन सकेको थिएन ।

आज गठबन्धनको बैठक राखेर निर्णय गर्नुपर्नेमा देउवा र प्रचण्डबीच सहमति बनेपछि आज गठबन्धनका दलहरु निर्णायक छलफलमा जुट्न लागेका हुन् । एमसीसी पास नगरी नछाड्ने कांग्रेस अडान र पास गर्न जबरजस्ती गरे सरकार छाडेन माओवादी अडानकाबीच आजको गठबन्धन बैठकलाई महत्वका साथ हरिएको छ ।

एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । सरकारमा सहभागी रहेका दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित यी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

img