logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

ललितानिवास प्रकरण : सीआईबीले थाल्यो थप अनुसन्धान

img
ललितानिवास प्रकरण : सीआईबीले थाल्यो थप अनुसन्धान

काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गाको किर्ते लिखतसम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सीआईबीले तथ्य तथा कागजातको विश्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको र सोहीअनुसार थप अनुसन्धान गर्न लागिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । उहाँका अनुसार ब्युरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सीआईबीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललितानिवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ललितानिवास प्रकरणमा १७५ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ ।

img